
महिला एसिया कप : नेपालको ऐतिहासिक जीत, यूएई ६ विकेटले पराजित
काठमाण्डौ । महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो ।
प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो ।
यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । आजदेखि सुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।
नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
प्रतियोगितामा अब नेपालले दोस्रो खेलमा पर्सि पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह चरणको तेस्रो तथा अन्तिम खेल आउँदो मङ्गलबार भारतसँग खेल्नेछ ।