अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा
काठमाण्डौ । पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिनुभएको छ।
आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उहाँ विवादमा तानिनुभएको हो । डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ।
आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र अहिले सार्वजनिक भएको हो । विशिष्ट व्यक्तिहरुलाई विदेश जानुपरेमा भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ ।
उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधैँ आफैँ पत्र लेख्नुभएको हो । पत्र सार्वजनिक भएसँगै उहाँको चर्को आलोचना भइरहेको छ ।
राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बन्नुभएको हो ।