सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग घोषणा गरी कार्य प्रारम्भ गर्न एमालेको माग
काठमाण्डौ । सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग आजै घोषणा गरी कार्य प्रारम्भ गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले माग गरेको छ । सरकारसँग भएको सहमति अनुरुप सुन तस्करी प्रकरणको छानबिन गर्न आज नै आयोग घोषणा भई कामको थालनी हुनुपर्ने एमालेले बताएको छ ।
गत भदौ ६ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका बीचमा सुन तस्करीबारे छानबिन गर्न जाँजबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो ।
नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संसदबाट गरेको प्रतिवद्धता पूरा नगर्न उद्यत देखिएको बताउनुभयो । उहाँले आयोग गठन भएर कार्य प्रारम्भ नभए सरकार सुन तस्करलाई बचाउन लागि परेको प्रमाणित हुने बताउनुभयो ।
उहाँले सहमतीप्रति छल नगरी तोकिएको मितिमै आयोग गठन गर्न सरकार समक्ष माग गर्नुभयो । एक महिनाको लागि तयारी समय दिएर सहमति गरिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री विदेशमा हुनुले आयोग घोषणामा कुनै बाधा नपर्ने पनि बताउनुभयो ।