सिआईबी र राष्ट्रिय अनुसन्धानका डिएसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाण्डौ । सिआईबी र राष्ट्रिय अनुसन्धानको ’डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दिनुभएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का नैनसिंह बिक पक्राउ परेका हुन् ।

प्रमुख प्रहरी उपरीक्षक कार्कीका अनुसार विगत तीन महिनादेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा आफू सिआईबी र राष्ट्रिय अनुसन्धानको डिएसपी नविन शाही हुँ भनी ठगी गर्ने गरेको सूचनाको आधारमा बिकलाई पक्राउ गरिएको हो ।

बिकले जिल्लाका विभिन्न सरकारी कार्यालयमा पुगेर अनुगमनको सिलसिलामा आएको हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि कोहलपुर ११ एनटीभि रोडबाट उनलाई पक्राउ गरिएको हो ।

बिकले कुनकुन ठाउँबाट के कति ठगी गरेको हो सो पत्ता लगाउन अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभयो ।