दृढ विश्वासका साथ अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिन्छ : अर्थसचिव पुष्कर
काठमाण्डौ । नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
आज (बिहीबार) मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो ।
अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि सरकारले अर्थसचिवको जिम्मेवारी दिइएकाले त्यसलाई निकै संवेदनशीलताका साथ मनन गर्ने उहाँले बताउनुभयो । अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट चुनौतीहरू देखापरेको उल्लेख गर्दै उहाँले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताउनुभयो ।
अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण भएकाले पुँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उहाँले स्पष्ट पानुृभयो । साथै वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।
अर्थसचिव पुष्करले यसअघि पनि अर्थ मन्त्रालयमा राजस्व सचिव र अर्थसचिवका रूपमा काम गरिसक्नुभएको छ । अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उहाँको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।