
काठमाण्डौका नयाँ सडकमा शुरु गरेको सडक पेटी विस्तारको काम निरन्तर गर्न पाउने
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नयाँ सडकमा शुरु गरेको फुटपाथ सडक पेटी विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय काठमाण्डौको हस्तक्षेपका कारण रोकिएको थियो ।
यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट हिजो महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि शुरु हुने भएको हो ।
नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो । काममा जेठ १२ गते डिभिजन सडक कार्यालय काठमाण्डौले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ / १६ गते गरी दुई वटा पत्र पठाएको थियो ।
डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नम्बर २२, २३ /२४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को बजेटबाट फुटपाथ सडक पेटी विस्तार गर्ने योजना अनुरुपको कार्य सञ्चालन गर्नका लागि अन्तरिम आदेश माग गरेको थियो ।