मापदण्ड विपरीत विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । संसदीय समितिले अति विशिष्ट (भीभीआईपी) र भीआईपी (विशिष्ट) व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज (बिहीवार) प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, गाडी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीले नियमअनुसार पाउनेभन्दा बढी गाडी प्रयोग गरेको भए त्यो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।
त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले त्यो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।