
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ कार्यक्रम भने भोलि हुने
काठमाण्डाै । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ ।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।
ओली अहिले चाैथाेपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्राेपटक २०७८ सालकाे वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बन्नुभएको हो । अर्को चुनावसम्म एमाले र कांग्रेसले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।