मधेश प्रदेशको आर्थिक विधेयक २०८१ बहुमतले पारित
जनकपुरधाम । मधेश प्रदेशसभाले आर्थिक विधेयक २०८१ पारित गरेको छ । आज (शनिबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सभामुख रामचन्द्र मण्डलले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि सांसद किरण कुमारीले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । उहाँको प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मत अस्वीकृत भएको थियो ।
सो विधेयकमाथि भएको दफावार छलफलमा सांसद रामआशिष यादव र प्रमोद यादवले उठाएको सवालमाथि मुख्यमन्त्री सिंहले जवाफ दिँदै कुनै प्रकारको कर नबढाएको स्पष्ट पार्नुभयो ।

