एमाले अध्यक्ष ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुनुहुने
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लाग्नु भएको हो ।
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनुभएको छ ।
राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।
स्रोतका अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुहुनेछ । अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने तयारी गरेको छ ।

