छाउपडी प्रथा अन्त्यगर्ने सवालमा आयोजित अन्तर्क्रिया सम्पन्न

असार २८ काठमाडौँ । छाउपडी प्रथा अन्त्यका लागि  आन्दोलन र सदनबाट एकसाथ दबाब सिर्जना गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

‘छाउपडी प्रथा अन्त्यका लागि नीति, कानुन र संयन्त्र निर्माण’ गर्ने सम्बन्धमा शुक्रवार आयोजित अन्तर्क्रियाका वक्ताहरूले सो धारणा व्यक्त गरेका हुन् । नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), जनसङ्ख्या र विकासका लागि सांसद मञ्चको संयुक्त आयोजनामा काठमाडौँको नयाँबानेश्वरमा सम्पन्न उक्त अन्तरक्रियामा नेपालका महिला सङ्गठनका नेताहरू, दलका प्रतिनिधिहरू, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू, राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरुबीच अन्तर्क्रिया भएको हो ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुका भद्र हमालको स्वागत मन्तव्यसँगे सुरू भएको कार्यक्रममा  संविधानसभा सदस्य एवम् नेकपा (एमाले) स्थायी समिति सदस्य डा. विन्दा पाण्डेले छाउपडी प्रथा र विभेद अन्त्य गर्ने साझा अभियानका लागि आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।

आधार पत्र प्रस्तुत गर्नुहुँदै डा. पाण्डेले नेपाल सरकारले छाउपडी प्रथाका विरुद्धमा प्रशस्त नीति कानुनहरू रहेको तर कानुन कार्यान्वयनमा समस्या रहेको तर्क पेस गर्नुभयो । उहाँले धर्म परम्पराका नाममा महिलाहरू रजस्वला हुँदा वा सुत्केरी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्दै पोषणयुक्त खानाबाट वञ्चित हुनुपर्दा विभिन्न रोगको शिकार बन्दै आएको,  महिलाहरू बलात्कृत हुनुपर्ने, वन्यजन्तुले आक्रमणमा परी  घाइते हुने वा मृत्युवरण गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो ।

 

अन्तर्क्रियाका वक्ताहरूले सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खान नपाउँदा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने  हुँदा छाउपडी महिला र आमाको मात्र समस्या नभै कमजोर पुस्ता निर्माण गर्ने डरलाग्दो सामाजिक समस्या भएको दावी गरे ।

छलफलमा उठेका सुझावहरूलाई गृह मन्त्रालय अन्तरगत सहसचिव गोगन बहादुर हमालको नेतृत्वमा छाउपडी प्रथा अन्त्यका लागि बनेको समितिलाई हस्तान्तरण गर्ने योजना रहेको अखिल नेपाल महिला सङ्घकी महासचिव एवम् संविधानसभा सदस्य पेम्बा लामाले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का उपाध्यक्ष श्री रेणु चन्दले सहजिकरण गर्नुभएको  शुक्रवारको अन्तर्क्रिया कार्यक्रम  नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउतको अध्यक्षतामा आयोजना भएको हो ।