अरनिको र बिपी राजमार्गमा आजबाट नियमित यातायात सञ्चालन

काठमाण्डौ । जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन्।

निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो।

धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए। खावा नजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै आज बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन्।

आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो। निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन्। रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

अरनिको र बिपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स–साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो।