
साफअन्तर्गतका सात देशका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा
काठमाण्डौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गत रहेका सात देशका फुटबल सङ्घका अध्यक्ष तथा महासचिवको बैठक काठमाण्डौमा हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईका अनुसार दक्षिण एसियामा फुटबलको विकास, विस्तार र प्रतियोगिताबारे छलफल गरिने बैठक आउने साउन ७ र ८ गते काठमाण्डौमा हुनेछ ।
साफमा नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, भुटान र पाकिस्तान सदस्य छन् । एन्फाले आयोजना गर्न लागेका अन्तर्राष्ट्रिय दुई प्रतियोगिता २० वर्ष मुनिको साफ च्याम्पियनसिप २०२४ र साफ महिला च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा दक्षिण एसियाली क्षेत्रका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने भएको हो ।