महानगरको उर्दी अवज्ञा गरेर आन्दोलनमा जाने प्रअहरूको निर्णय
काठमाण्डौ । विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने काठमाण्डौ महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले निर्णय गरेका छन् ।
बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै सो निर्णय गरेका हुन् । हिजो देखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
महानगरले हिजो एक विज्ञप्ती जारी गर्दै बन्द गरेर पठनपाठन प्रभावित गरेको खण्डमा त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर, शिक्षक कर्मचारीहरूले महानगरले गर्ने कारबाहीको बेवास्ता गर्दै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।
बैठकपछि विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि माइतिघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन अनुरोध गरेका छन् ।
साथै आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने बताएका छन् ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै देशभरका शिक्षक कर्मचारीहरू हिजोदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक–२०८० का कतिपय प्रावधान शिक्षकविरोधी रहेको भन्दै नेपाल शिक्षक महासंघले काठमाडौंमा हिजोबाट आन्दोलन थालेको छ ।
उनीहरुले माग सम्बोधन नभएसम्म आजदेखि विद्यालयको पठनपाठन ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाण्डौ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् ।