एमाले पार्टीका जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने

काठमाण्डौ । नेकपा एमाले ले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ ।

बुधवार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अधिवेशन गर्न बाँकी ११ वटा जिल्लामा आगामी कात्तिकभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय भएको छ ।

अहिले भएको कमिटीलाई सङ्गठन कमिटीमा रुपान्तरण गर्ने, समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशतसम्म सदस्य मनोनयन गर्न पाउने र त्यहाँभित्र सचिवालय बनाउन पाउने निर्णय भएको पनि बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले पार्टीले सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने र भूमि व्यवस्था विभागको सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिने निर्णय गरेको बताउनुभयो । बैठकले प्रदेश कमिटीले अनुमोदनका लागि पठाएका प्रस्तावलाई अनुमोदन गरेको बताउनुभयो ।
त्यस्तै बैठकले गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएकोमा अब आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँले नयाँ कार्यविभाजनको आधार अब केन्द्रीय सदस्यलाई सबैभन्दा तल्लो एकाइका रुपमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिने, जिल्ला वा प्रदेशको पनि लिनसक्ने व्यवस्था मिलाइने बताउनुभयो । सबैभन्दा आधारभूत एकाइ निर्वाचन क्षेत्र समन्वय कमिटी निर्वाचन क्षेत्र लाई आधार बनाएर कार्यविभाजन गर्ने बताउनुभयो ।

उहाँले बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई सत्ता बाहिर राख्न विभिन्न कदम चालेको बारे बैठकमा जानकारी गराउनुभएको बताउनुभयो ।