शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

काठमाण्डौ । शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाण्डौ महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

आज (बुधवार) एक सूचना जारी गर्दै विद्यालय बन्द गरेमा कारबाही गर्ने महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले उल्लेख गर्नु भएको छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ ।

सूचनामा महानगरपालिका मातहतका विद्यालय भोलि बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हडताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो ।