
असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लाग्छ: महेशकुमार बर्तौला
काठमाण्डौ । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभएको छ । आइतबार सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा पुगिनसकेको बताउनुभयो । उहाँले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउनेगरी कांग्रेससहितका दलहरुसँग छलफल हुने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो ।