बाढीले हुम्लाको हेप्काखोलाको काठेपुल बगायो, आवतजावतमा समस्या

काठमाण्डौ । बाढीले हुम्लाको हेप्काखोलाको काठेपुल बगाएको छ । उत्तरी नाम्खा र सिमकोट गाउँपालिकालाई जोड्ने हेप्काखोलाको काठेपुल बगाएको हो । नाम्खा गाउँपालिका–१ हेप्काखोलाको पुल बगाएपछि आवतजावतमा समस्या भएको हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

२०७४ साउनमा दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो तर त्यो अधुरै छ । स्थानीयबासिन्दाको सहजताका लागि बनाइएको अस्थायी काठेपुलसमेत बगाएपछि समस्या भएको चन्दले बताउनुभयो । यही पुल भएर मानसरोवर कैलाश दर्शन गर्न र सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिकाका साथै चीनसँग जोडिएका हिल्सा, लिमी, लाप्चा जान तर्नुपर्ने हुन्छ ।

एमएस जेभी धुलिखेल, काठमाण्डौले दुई वर्षभित्रै निर्माणसम्पन्न गर्ने भनेको पक्की पुल सात वर्षसम्म अधुरै रहेको र अस्थायी पुलसमेत बगाएपछिसमस्या भएको स्थानीयबासिन्दाको गुनासो छ । बाढीले चङ्खेली गाउँपालिका–६ मासिधारा र मेल्छाम गाउँमा रहेका खेतबारीसमेत क्षति गरेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । रासस