क्यानडाद्वारा भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी

काठमाण्डौ । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । भारतमा आतङ्कवाद र अपहरणको खतरा रहेको भन्दै क्यानडाले एड्भाइजरी जारी गरेको बताएको छ ।

क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ । जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा रहेको क्यानडाले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।

यस्तै, पाकिस्तानसँग सीमा जोडिएको भारतका गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई भनेको छ । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी भएको हो ।

अस्ति (सोमवार) क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनु भएको थियो । यसका साथै क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । त्यस लगत्तै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।