संविधान दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देश
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नु भएको छ । उहाँले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभएको छ ।
समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताउनुभएको छ ।