स्थानीय तहबाटै डेंगी नियन्त्रण अभियान

काठमाण्डौ । मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ। काठमाडौं महानगरपालिकाले एक सातादेखि प्रत्येक वडामा नागरिकबीच डेंगीबाट कसरी बच्ने र कसरी नष्ट गर्ने भन्ने विषयमा जनचेतना अभियान सुरु भएको महानगरले जनाएको हो।

गत सातादेखि सुरु भएको यो अभियानमा प्रत्येक वडाका स्वास्थ्य स्वयंसेविका घरघरमा पुगेर डेंगी संक्रमणको जोखिम र लामखुट्टेको बासस्थान नष्ट गर्नेबारे सचेतना दिइरहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

उनका अनुसार प्रत्येक वडामा १५ देखि २५ जना स्वास्थ्य स्वयंसेविका दैनिक बिहानको समयमा घर–घरमा पुगेर यो जानकारी दिइरहेका छन्। ‘बिहानै घरैमा पुगेर भन्ने भएकाले यो कार्यक्रम प्रभावकारी देखिन्छ, अर्कोे चरणमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने कार्यक्रम जारी राख्छौं,’ मानन्धरले भने।

उनका अनुसार महानगरपालिकाभित्र रहेका सबै अस्पताललाई कुनै पनि डेंगीका बिरामी आएमा उपचार गर्नु भनी पत्राचार गरिसकिएको छ। हरेक अस्पताललाई डेंगीको जोखिम र सम्भावित बिरामीको उचित व्यवस्थापनका लागि निर्देशन दिएका हौं,’ उनले भने।

दुई साताअघि नै वडा–वडामा स्वास्थ्यकर्मी पुगेर डेंगी सार्ने लामखुट्टेको वृद्धि रोक्ने विषयमा अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए। अर्को चरणमा लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानको तयारी गरिरहेको उनले जानकारी दिए।

भक्तपुर नगरपालिकाका प्रवक्ता दामोदर सुवालले नियमित सफा पानी जम्ने भाँडा नियमित सफा गर्न तथा लामखुट्टेको बासस्थान नष्ट गर्न प्रत्येक वडामा जनचेतना अभियान चलाएको बताए। यो अभियानअन्तर्गत डेंगी नियन्त्रणको उपचारसम्बन्धी पर्चा प्रकाशन गरी घर–घरमा पुर्‍याउने तयारी भएको र फोहोरको गाडीमार्फत माइकिङ गरेको सुवालले जानकारी दिए।

यी स्थानीय तहबाहेक देशैभरका मुख्य सहर तथा जोखिमयुक्त स्थानका नगरपालिकाले डेंगी नियन्त्रणका लागि विभिन्न अभियान सुरु गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार जुनजुन भागमा डेंगी संक्रमण पुष्टि भएको छ, ती सबै स्थानीय तह र जिल्लालाई महाशाखाले पत्राचार गरी लामखुट्टेको वासस्थान खोजी लामखुट्टेको वृद्धि नियन्त्रण गर्न निर्देशन दिएपछि धेरैजसो ठुला सहर र स्थानीय तहहरूले डेंगी नियन्त्रणका लागि अभियान सुरु गरिसकेको बताए।