तिमाङखोलाको काठेपुल बगाउँदा बेंसीसहर–चामे सडक अवरुद्ध

काठमाण्डौ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका(१, तिमाङको तिमाङखोलामा बाढीले काठेपुल बगाएको छ । मंगलबार राति पौने ८ बजेतिर पुल बगाएपछि सडक अवरुद्ध भएको मनाङ प्रशासनले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेंसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको बताए । वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक व्यवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ ।

यसअघि पनि काठे पुल बनाएर सवारी आवतजावत भइरहेको तिमाङ खोलामा ३ वर्षअघि बेलिब्रिज राखिएको थियो । २०७८ असारको भीषण बाढीले बेलिब्रिज बगाएपछि काठेपुल राखेर सवारी आवतजावत गरिएको थियो । यस्तै, तिमाङकै तल्लो क्षेत्र तिमाङ छहराबाट गेग्रान थुप्रिँदा पक्की पुलसमेत धरापमा परेको छ ।