प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुहुने
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनुभएको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताउनुभयो ।
साथै, रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको पनि उहाँले बताउनुभएको छ ।
कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक बोलाउनुभएको थियो । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने केही नेताले सुझाव दिएका थिए ।
प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो भएमा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यवसथा गरिएको छ ।