एमालेले आज नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्दै
काठमाण्डौ । पार्टी उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज मंगलबार नेकपा (एमाले)ले सातै प्रदेशमा विचार गोष्ठी गर्दैछ ।
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको कार्यक्रम गर्न लागेको हो ।
एमाले पार्टी मुख्यालय च्यासलमा दिउँसो १२ः३० मा हुने विचार गोष्ठी कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको एमालेले जनाएको छ । अतिथि वक्ताका रूपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, संविधानविद् नीलाम्वर आचार्य सहभागिता रहने छ ।
यसैगरी, अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरूले प्रमुख वक्ताका रूपमा सम्बोधन हुनेछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुर, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने एमालेले जनाएको छ ।