मन्त्री र सांसदहरूले समय दिन नसक्दा कानुन बन्न ढिला भयो , सभापति थापा

काठमाण्डौ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू उपस्थित हुन नसक्दा कानुन निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।

बिहीबार बसेको समितिको बैठकमा बोल्दैे विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । समय छैन भन्दै टार्ने गरेकोमा आपत्ति जनाउनुभयो । उहाँको अनुसार बैठकमा बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानुन निर्माण गर्न समय लाग्ने गरेको भन्नुभयो।

समयसँगसँगै समितिमा आएका विधेयकहरूको छलफलका लागि प्राथमिकता दिन सांसदहरूसँग आग्रह गर्नुभयो । विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नू भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको उल्लेख गर्नुभयो ।

समयलाई पनि ध्यान दिनुपर्छ र प्राथमिकता पनि दिनुपर्छ, उहाँले भन्नुभयो ।