
पाँचथरको कञ्चनजङ्घा चिया बगान केन्द्रलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय
काठमाण्डौ । मदन भण्डारी फाउन्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पाँचथरलाई प्रदान गर्ने भएको छ । ७३ औँ मदन जयन्तीको सन्दर्भमा सो चिया बगान केन्द्रलाई नगद एक लाखसहितको उक्त पुरस्कार आउँदो असार १४ गते आयोजित विशेष समारोहमा प्रदान गरिने छ । पुरस्कार सम्बन्धी निर्णय सार्वजनिक गर्न असार १२ गते आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले सो कुराको जानकारी दिनुभएको हो ।
मदन भण्डारी फाउण्डेशनले विक्रम संवत् २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आइरहेको छ । यो वर्ष पुरस्कारका लागि सिफारिस गर्न रामशरण प्याकुरेलको संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।
यो वर्षको पुरस्कारका लागि राष्ट्रिय उद्यमशीलतालाई प्रवर्द्धन गर्ने क्षेत्रलाई चयन गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
पाँचथरस्थित कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र नेपालको अर्गानिक चिया बगान र जैविक हरियो चिया उत्पादनको नमुना संस्थाकारूपमा स्थापित संस्था भएको फाउण्डेशनले जनाएको छ । उक्त चिया बगान केन्द्र वि.सं २०४१ सालदेखि सञ्चालनमा आएको हो । केन्द्रले स्थानीय कच्चापदार्थको प्रयोगलाई मुख्य आधार मानी प्राङ्गारिक चिया खेती गर्दै रोजगारी सिर्जना गर्दै आइरहेको छ ।
९५ हेक्टर जमिनमा नवीन आयुर्वेदिक जैविक खेती प्रविधि मार्फत १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राकृतिक मसलाहरूसहित वार्षिकरूपमा सय टनभन्दा बढी चिया तथा जडीबुटीको गुणस्तरीय उत्पादन गरी निर्यात गर्दै आइरहेको छ ।
उक्त केन्द्रले उत्पादन गरेको चिया जापान, जर्मनी, क्यानडा, अस्ट्रेलिया, कोरिया, युक्रेन, संयुक्त राज्य अमेरिका, पोल्यान्ड, नेदरल्याण्ड, फिनल्याण्ड, चीन र भारतलगायतका देशहरूमा निर्यात हुने गरेको छ। केन्द्रले वार्षिक रु ४ करोडभन्दा बढी कारोबार गर्ने गरेको बताइएको छ ।
यो केन्द्रले १५० भन्दा बढी किसानलाई प्रत्यक्ष र ४०० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आइरहेको छ ।
यसैबीच, मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम गरी ७३ औँ मदन जयन्ती मनाउने जनाएको छ । नेकपा (एमाले) का अध्यक्ष एवं फाउण्डेशनका संरक्षक केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा असार १४ गते दिउँसो २ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाहलमा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोह आयोजना गर्ने भएको छ ।
सोही समारोहमा ‘जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक गोष्ठी हुने समेत फाउण्डेशनका अध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।