सामाजिक सञ्जालबाट महिला हिंसाका घटना बढ्दै जानु चिन्ताजनक

काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालबाट हुने महिला हिंसाका घटना बढ्न थालेकोप्रति लैङ्गिक हिँसा न्यूनिकरणका अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २३ औँ वार्षिक उत्सवका अवसरमा आज (बुधबार) आयोजना गरेको ‘सामाजिक सञ्जालमा महिलाः हिंसा समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै  सहभागी वक्ताहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूबाट महिलाहरूमाथि हुने हिंसाका घटना बढ्दै जानु चिन्ताजनक रहेको बताउँदै यसलाई रोक्न कडा कानुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले सहजिकरण गर्नुभएको उक्त अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले नेपालमा साइवर अपराध नियन्त्रण गर्ने संयन्त्र, विद्यमान कानुन र सामाजिक प्रवृत्तिको समेत समीक्षा गर्नुभयो ।

यसैक्रममा पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले आफू पनि सामाजिक सञ्जालको हिंसामा परेको अनुभव सुनाउनुहुँदै यसलाई रोक्न सामाजिक सञ्जालको नियमनका लागि नयाँ कानुन आवश्यक रहेको बताउनुभयो । उहाँले आफूले सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाहरूलाई वास्ता नगर्ने गरेको बताउनु भयो ।  अहिलेको प्रविधिको युगमा यसको नियमन र सही प्रयोग कसरी गर्ने भन्ने विषयमा ज्ञान सबैलाई हुनुपर्नेमा डा. पौड्यालले जोड दिनुभयो ।

महिलाप्रति हेर्ने दृष्टिकोण अझैसम्म परिवर्तन नभएको र अहिलेका किशोरीहरू विशेष गरी यौनजन्य हिंसाबाट समेत प्रताडित हुनुपरेको भन्दै पौड्यालले प्रविधिको दुरुपयोग गरी महिला हिंसाको घटना झनै बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अर्का प्रमुख वक्ता नेपाल ल क्याम्पसकी उप प्राध्यापक एवम् नेपाल मेलमिलाप परिषद्की सदस्य विष्णुमाया भुषालले बढ्दो प्रविधिको प्रयोगसँगै नेपालमा डिजिटल साक्षरताको ज्ञानसमेत आवश्यक भइसकेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले  छुट्टै कानुनी प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो । भुषालले एकले अर्कोलाई दोष देखाएर पन्छिने भन्दा पनि सामाजिक सञ्जालमा देखिएका विकृतिहरू निर्मूल पार्न सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।