मदन भण्डारी कलेजद्वारा वार्षिकोत्सव कार्यक्रम सार्वजनिक

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आइतबार पत्रकार सम्मेलन गर्दै २३औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रम सार्वनजिक गरेको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एमव् पूर्व राजदूत महेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा पत्रकार सम्मेलन गर्दै कलेजले कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

कलेजका प्रमुख डा.बाबुराम अधिकारले असार ९ गतेदेखि साताव्यापी कार्यक्रम सुुरु भएको जानकारी दिनुभयो । उहाँका अनुुसार असार ९ गते कलेज परिसर सरसफाइ गर्नुका साथै लाइभ पेन्टिङ प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै, असार १० गते धोबीखोला करिडोर दायाँबायाँ सरसफाई गर्नुका साथै उपत्यका ट्राफिक व्यवस्थापन कार्यालय रामशाहपथ र कामपा १० वडा कार्यालयसँगको समन्वयमा ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरिनेछ ।

असार ११ गते अभिभावक समुदाय भेला, विद्यार्थी विदेश पलायन विषयक छलफल कार्यक्रम गरिनुका साथै उर्जा ध्यान शिविर सञ्चालन गरिनेछ ।

असार १२ गते लायन्स क्लब अफ काठमाण्डौको सहकार्यमा स्वास्थ्य शिविर–रक्तदान कार्यक्रम, मधुमेह, मिर्गौला, दाँत तथा आँखा परीक्षा र सामाजिक सञ्जालमा ‘महिला हिंसाः समस्या र सामना’ विषयक छलफल कार्यक्रम आयोजना गरिनेछ ।

असार १३ गते ज्येष्ठ नागरिकहरूलाई कपडा तथा फलफूल वितरण तथा वर्तमान पाठ्यक्रम र प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो । असार १४ गते कलेज प्राङ्गणमै आयोजना गरिने कलेजको २३औ वार्षिक उत्सव समारोह विहान ८ बजेदेखि सुरूहुनेछ । जसमा विहान १० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिनेछ ।

उहाँका अनुसार वार्षिक कलेजको मुख्य कार्यक्रम २३औ वार्षिक उत्सव भने ११ बजेदेखि १ बजेसम्म हुनेछ, जसमा शुभकामना मन्त्व्य, ५ जना विद्यार्थीलाई स्वर्णपदक, वर्ष विद्यार्थी सम्मान, कलेजको वार्षिक प्रकाशन श्वेत शार्दूल ‘अङ्क २०’ को विमोचन, ४ जना उत्कृष्ट शिक्षक एवम् कर्मचारी घोषणा, कलेजको नयाँ प्रकाशन ई–बुलेटिन अनावरण र वाटिका उद्घाटन गर्नुका साथै स्काउट ट्रुपको पनि शुभारम्भ गरिनेछ ।

साथै सो अवसरमा मदन भण्डारी मेमोरियल कलेजका पत्रकारिता विभागका पुर्व प्रमुख समेत रहनु भएका प्राध्यापक डा. घमराज लुइँटेललाई सम्मान गरिएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट ‘न्यूज सोर्स इन नेपाली रेडियो ब्रोडकास्टिङ’ शीर्षकमा विद्यावारिधि हासिल गर्नुभएको हो ।

यस्तै, मदन भण्डारी मेमोरियल कलेजले निकट भविष्यमै होमग्राउण्ड फिलोसोफी कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरिरहेको समेत क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले रचनात्मक गतिविधीद्वारा दक्ष पत्रकार उत्पादन गर्न कलेज प्रतिवद्ध रहेको बताउनुभयो । सो अवसरमा अध्यक्ष पाण्डेले हालै विद्यावारिधी हासिल गर्नुभएका मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता तथा आमसञ्चार विभागका पूर्व संयोजक घमराज लुँइटेललाई सम्मान पनि गर्नुभयो  ।


मदन भण्डारी मेमोरियल कलेज जननेता मदन भण्डारीको स्मृतिमा २०५८ सालमा सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा दिने अभिप्रायले सामुदायिक कलेजको रुपमा स्थापना भएको हो ।यस कलेजमा कक्षा ११ देखि स्नातकोतर तहसम्म अध्यापन हुँदै आएको छ ।