हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेका

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ५ दशमलव ३७ अङ्कले घटेर २ हजार ६२ दशमलव ९४ विन्दुमा झरेको छ ।

फाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यस्तै ग्लोबल आईएमई लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन रिलाइन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युत् र नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

३ सय १७ वटा कम्पनीका ९५ लाख ६१ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको १७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।