कानुन मन्त्रीको संयोजकत्वमा संसद्का कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

काठमाण्डौ । सङ्घीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेनुभएको छ । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएको थियो । विरोधमा उहाँहरुले संसद बैठकमा ‘ब्ल्याक आउट’ गर्दा संसद् बैठक नै प्रभावित हुँदै आएको थियो ।

सोही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन, न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गर्नुभएको थियो । बैठकले कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो ।