
भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुग्यो
भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।
प्रहरीका अनुसार मंगलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए)ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाकारी दिनुभयो ।
सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ । हाल ४७० गाउँ पानीमा डुबेका एएसडीएमएले जनाएको छ ।
स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ राहत शिविर र वितरण केन्द्र खोलेको छ, जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको पनि बताको हो ।
गत महिना पश्चिम बंगाल र बंगलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको हो ।