योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछः गृहमन्त्री लामिछाने

काठमण्डौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले देश र जनाताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताउनुभएको छ।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आज प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उहाँले बताउनुभयो ।

उहाँका अनुसर व्यायामले शरीर र स्वस्थ मानसिकता एवम् निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो ।

हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजका लागि महत्वपूर्ण र साथै आगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस हुन गृहमन्त्री लामिछानेले जिकिर गर्नुभयो।

प्रहरी सङ्गठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउँदै उहाँले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने उहाँले बताउनुभयो।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने भन्नु भयो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरका माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको अनुभूति गरेका बताउनु भयो। उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायक सिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा गृहमन्त्री रवि लामिछानेले पतञ्जली योग समिति नेपालका वरिष्ठ योग गुरु लभदेव मिश्र, पतञ्जली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतञ्जली योग समिति नेपालका सहकेन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मान गर्नुभएको थियो।

 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्षलगायतको सहभागिता थियो।