बेरुजु फछ्र्यौटसम्बन्धी समस्या सम्बोधन गर्न साझा धारणा बनाएर अघि बढ्ने सार्वजनिक लेखासमितिको निष्कर्ष
काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ ।
समितिको आजको बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्याैटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यलयसँग सुझाव लिन लागेको छ । बेरुजु फछ्र्यौटसम्बन्धी समस्या सम्बोधन गर्न सबै मन्त्रालय र आयोगका लेखा अधिकृतलाई बोलाएर छलफलका आधारमा साझा धारणा बनाएर अघि बढ्ने समितिको निष्कर्ष छ ।
बैठकले सङ्घीय मन्त्रालय र आयोगको बेरुजु अध्ययन र विश्लेषण गर्न नौवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । २७ सदस्यीय लेखा र तीमध्ये आठवटा ३ सदस्सीय र एक भने २ सदस्यीय उपसमिति हुनेछ । समितिले मुलुकमा रहेका सरकारी सवारीसाधनको विवरण र प्रयोगबारे सरोकारवाला निकायसँग पनि जानकारी माग्ने भएको छ ।
यसअघि बैठकमा सदस्य अमरेशकुमार सिह, तेजुलाल चौधरी, योगेशकुमार भट्टराई, जनार्दन शर्मा, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, गोकुलप्रसाद बाँस्कोटालगायतले समितिको पहिलो र मुख्य काम भनेकै बेरुजु फछर्याैटसम्बन्धी भएकाले त्यसमा ध्यान केन्द्रित हुन आवश्यक रहेको बताएका छन्।
बैठकमा सवारी साधनलगायत सरकारी खर्च बेपर्वाह ढङ्गबाट दुरुपयोग भएको, नयाँ सवारीसाधन आवश्यकता भन्दा सोखकारुपमा खरिद गर्ने गरिएको तथा गुठी र सरकारी जग्गाको दुरुपयोग रोक्न विशेष ध्यान पुर्याउनुपर्ने विषयले प्रवेश पाएको थियो ।
त्यस्तै, बैठकमा सदस्यहरुले सिंहदरबार परिसरमा कर्मचारीको सङ्ख्याभन्दा सवारीसाधनको सङ्ख्या बढी रहेको, समितिले लोकप्रियताभन्दा तथ्य र वास्तविकताका आधार निर्णय र निर्देशन दिनुपर्ने तथा लामो समयदेखि बेरुजु फछर्याैट कार्यान्वयनको प्रश्न उठेकाले साझा रणनीतिसहित अघि बढ्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।