राष्ट्रपतिद्वारा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग आग्रह

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । जर्मनी भ्रमणका क्रममा उहाँले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।

बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउनुहुँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको जानकारी दिनुभयो ।

कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभएको उहाँले बताउनुभयो । त्यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवर्ता गर्नुभएको थियो । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताउनुभयो ।

उहाँले दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको जानकारी दिनुभयो । नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका सबै पक्षहरुमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको बताउनुभयो ।

उहाँले स्विट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । स्विट्जरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभएको बताउनुभयो । दुवै देशका राष्ट्रपतिसँगको भेटमा उहाँले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको पनि सचिव लम्सालले जानकारी दिनुभयो ।