रुसी राष्ट्रपति पुटिनलाई उत्तर कोरियामा स्वागत

एजेन्सी । उत्तर कोरियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरिएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि उत्तर कोरिया पुग्नुभएका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उन प्योङयाङको विमानस्थल पुग्नुभएको बीबीसीले बताएको छ ।

यसअघि सन् २००० मा राष्ट्रपति पद सम्हालेको केही समयमै पुटिन पहिलो पटक त्यहाँ जानुभएको थियो ।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारीको टोली सहभागी छ । बीबीसीका अनुसार उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने छ ।

पुटिन र समकक्षी किमबीच आज औपचारिक भेटवार्ता हुँदैछ । उहाँहरुबीच हातहतिहार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ ।

यसअघि पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।