अवैध नाकाबाट कारोबार हुँदा राजस्वमा चुहावट भएको सांसद बाँस्कोटाको भनाइ

काठमाण्डौ । प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ ।

आज (आइतबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भइरहेकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको हो । सांसद बाँस्कोटाले वैध नाकाहरुबाट कारोबार कम भइरहेको बताउनुभयो । सानातिना नाकाहरुबाट मालसामान व्यापक रुपमा आइरहेको र तस्करी मौलाइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी, उहाँले सार्वजनिक जमिनहरु पनि मिचिइरहेका भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । सांसद बाँस्कोटाले ठेक्का लगाएर निर्माण व्यवसायीलाई पैसा नदिने र आयोजनाको म्याद र लागत बढाउने बेथितिको पनि अन्त्य हुनुपर्ने बताउनुभयो ।