
आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको ढुकुटी २ खर्ब रुपैयाँभन्दा धेरैले घाटामा
काठमाण्डौ । आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको ढुकुटी दुई खर्ब रुपैयाँभन्दा धेरैले घाटामा गएको छ । राजस्व, आन्तरिक ऋण, वैदेशिक ऋण र अनुदानबाट जुटाएको रकमभन्दा चालू, पूँजीगत तथा वित्तीय व्यवस्थापनलगायतमा खर्च बढी हुँदा सङ्घीय सरकारको सञ्चित कोष घाटामा गएको हो ।
चालू आर्थिक वर्षको ११ औँ महिना अर्थात् जेठ मसान्तसम्म सङ्घीय सरकारको सञ्चित कोष दुई खर्ब चार अर्ब रुपैयाँले घाटामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सञ्चित कोष घाटामा भए पनि नेपाल राष्ट्र बैंकमा रहेको सरकारको खातामा विभिन्न कोष, धरौटी तथा कर विवादका रकम रहेकाले अहिलेसम्म काम चलिरहेको महालेखा नियन्त्रकको कार्यालयका एक जना अधिकृतले बताएका छन् ।
११ महिनामा कर र गैरकर राजस्व तथा अन्य प्राप्तिबाट नौ खर्ब १९ अर्ब रुपैयाँ सङ्कलन भएको छ । यस्तै आन्तरिक ऋणबाट दुई खर्ब ३५ अर्ब रुपैयाँ, वैदेशिक ऋणबाट ७३ अर्ब ४६ करोड रुपैयाँ तथा वैदेशिक अनुदानबाट दुई अर्ब ७५ करोड रुपैयाँ सङ्कलन भएको छ ।
सरकारले ११ महिनामा खर्च भने ११ खर्ब ८१ अर्ब रुपैयाँ गरेको छ । जेठ मसान्तसम्म सरकारले चालू शीर्षकमा आठ खर्ब २२ अर्ब ८० रुपैयाँ अर्थात् ७२ दशमलव ८ प्रतिशत खर्च गरेको छ । यस्तै विकास बजेट वा पूँजीगत शीर्षकमा एक खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ४४ दशमलव ६८ प्रतिशत तथा वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् ७२ दशमलव ७ प्रतिशत खर्च गरेको छ ।
अब असारमा सरकारी खर्च धेरै हुने भएकाले राजस्व पनि बढ्ने अर्थ मन्त्रालयको दाबी छ । अर्थतन्त्रमा सुधार हुन नसक्नुमा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र कमजोर रहेको भन्दै आलोचना भइरहँदा पूँजीगत खर्चको अवस्था कमजोर देखिनु, चालू र वित्तीय व्यवथा शीर्षकको खर्च बढ्दै जानु, लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नु तथा वैदेशिक अनुदान उठाउन नसक्नु प्रमुख समस्याका रूपमा देखिएका छन् ।