एसिया कप : उपाधिको लागि भारत र श्रीलङ्का खेल्दै
काठमाण्डौ । एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । श्रीलङ्काको कोलोम्बोमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरुहुने छ ।
श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।
सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।
श्रीलङ्काले २०२२ मा टी–२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।
यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।