मौसम खबर : पानी नपर्दा गर्मी बढ्न थाल्यो, आज केही ठाउँमा हल्का वर्षा
काठमाण्डौ । हाल सुदूर पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
पानी नपर्दा गर्मी बढ्न थालेको छ । मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।
आज दिउँसो सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।
कोशी, बाग्मती र मधेस प्रदेशमा भने फाट्टफुट्ट मात्रै पानी पर्ने उहाँले बताउनुभयो । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । यस्तै, जनकपुर, धनगढी र भैरहवाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस छ ।
यस्तै आज राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाई छ ।