अझै २० वर्ष सक्रिय रहन्छु तर योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिन्छु : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भएको छ । आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा गर्नु भएको छ ।
आज (शनिबार) ‘बा सँग बालबालिका’ कार्यक्रममा किशोर किशोरीहरुका प्रश्नको जवाफ दिने क्रममा ओलीले अझै २० वर्ष आफू सक्रिय रहने बताउनु भएको हो । तर सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण गर्ने योजना समेत सुनाउनु भएको हो ।
ओलीले आफ्नो पिता अहिले पनि दिनमा दुई तीन किलोमिटर बिना लौरो हिड्ने गरेको भन्दै २० वर्षसम्म आफू सक्रिय रहने बताउनु भएको हो ।
तपाईको अनुपस्थितिमा कसले नेतृत्व गरोस् भन्ने प्रश्नमा ओलीले भन्नुभयो “मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । म पहिले अलि बिरामी थिएँ अहिले ठिक छु । दोस्रोपटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ । म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु ।”