गैह्रीगाँउ सामूहिक हत्याकाण्ड : अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

काठमाण्डौ । गएराति मध्यरातमा काठमाण्डौको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा समिति गठन गरिएको हो ।
तीनकुनेस्थित दिव्या सःमिल भित्र काठले बनेको एकतले जस्ताको टहरामा धारिलो हतियार प्रहार गरि ४ जनाको हत्या भएको थियो ।

सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन ।