प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै : असोज ५ गते न्युयोर्कबाटै चीन जाने

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदै हुनुहुन्छ ।
आज (शनिबार) साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड न्युयोर्क प्रस्थान गर्नु हुनेछ ।

आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।