न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर

काठमाण्डौ जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाण्डौका श्रेष्तेदार रामु शर्माले बताउनुभयो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका गिरीविरुद्ध उनकै पत्नि आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । गिरीले गत वैशाख तीन गते जिल्ला अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

रावलले बलात्कार मुद्दामा अदालतले ढिलासुस्ती गरेको भन्दै उनी २०८० असार १० देखि दुई महिनासम्म अनशन बसेकी थिइन् । उनले २०८० माघ १ देखि दोस्रो चरणको अनशन थालेकी थिइन् । सरकारले गाँस, बास, कपास र जीविकोपार्जन सहितको पीडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै अनशनरत थिइन् ।