पर्यटनमन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलो नाम्सापुरानको जेठ २६ गते अवलोकन गर्नुभयो । ग्लान समाज नेपालद्वारा योजित थातथलो भ्रमण कार्यक्रममा मन्त्री लागयत ग्लान थर भएका तामाङहरू नुवाकोट दुप्चेश्वर गाउँपालिका  ४ बेतिनिस्थित नाम्सापुरान ‍पुग्नुभएको हो ।

आफ्नै वंशको थातथलो पुग्नु भएका तामाङले नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने घोषणा समेत गर्नुभयो ।
मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभयो ।

यसैगरी, बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताउनु भयो । उहाँले ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि वंशथलोको दिगो संरक्षण हुनुपर्ने आवस्यकता औंल्याउनुभयो ।

थातथलो अवलोकनको क्रममा बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि  बजेट विनियोजन गरेकोमा मन्त्री तामाङलाई धन्यवाद दिँदै थातथलोलाई सबैले विर्सन नहुने बताउनुभयो ।
त्यस्तै, बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ ।
यस्तै गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरण समेत हुने विश्वास व्यक्त गर्नुभयो ।

 

त्यस्तै पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिरहेका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको बताउनु भयो ।

‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामुहिक राष्ट्रिय भेला गर्नेछु ।’ उहाँले बताउनुभयो ।

यसैगरी, आनन्दी ग्लानले स्नातोकत्तर अध्ययनमा लपताबकै विषयमा अध्ययन गरेको जानकारी गराउनुभयो ।  उहाँले ग्लानको थातथलो नाम्सापुरान आउने अवसर मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।

पूर्व गाउँपालिका अध्यक्ष तामाङको पालामा बनेको कुदाप र डम्फु पार्कले ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षक बन्दै गएको छ ।

तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ बर्षिय टोकबहादुर ग्लानले जानकारी दिनुभयो ।