आजको मौसम : देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति पनि काठमाण्डौसहित पहाडी जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक÷दुई ठाउँमा पानी पर्ने मौसमविद् प्रतिमा मानन्धरले बताउनु भएको छ ।

साथै तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान रहेको उहाँको भनाई छ । तराईका जिल्लामा हिजो पनि हावाहुरी चलेको थियो ।

यस्तै आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाकाले जनाएको छ ।