महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा भोलि शोक बिदा
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिने भएको छ ।
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज (बिहीवार) बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।
रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनियाका कारण उहाँको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।