
सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१, बहुमतले पारित
काठमाण्डौ । प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१, बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताउनुभयो । उहाँले ती विषयहरुलाई स्वदेशमै छपाइ गर्न सकिए वैदेशिक मुद्रालाई स्वदेशभित्रै राख्न सकिने बताउनुभयो ।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।