संसदीय छानबिन विशेष समितिले थाल्यो काम

काठमाण्डौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले काम गर्न थालेको छ। सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा छानबिन विशेष समितिको पहिलो बैठक बसेको हो।

सहकारी अपचलनमा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरूले संसदीय छानबिन समिति मागेर संसद् अवरुद्ध गरेपछि सरकारको सहमतिमा प्रतिनिधिसभाले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा सात सदस्यीय समिति गठन गरेको छ।

समितिमा सभापति थापासहित एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

गठित समितिलाई चारबुँदे कार्यादेश र तीनमहिने समयावधि तोकिएको छ भने २९ सहकारी छानबिनको दायरामा छन् । सहकारीको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका र सम्बन्धित निकायमा उजुरी परेका २९ सहकारीको नाम उल्लेख गरी अन्य सहकारीको सम्बन्धमा समेत छानबिन गर्न सक्ने गरी कार्यादेश तोकिएको छ।

समितिलाई नौ सहकारीको नाम उल्लेख गरी गोरखा मिडियालगायत संस्थामा भएको रकम अपचलनमा संलग्न व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्ने र कारबाही सिफारिस गर्न सक्ने कार्यादेश रहेको छ।

कार्यादेशमा आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था लि :, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायतमा रकम प्रवाहको विषयमा छानबिन गर्ने भएको छ।