गण्डकी प्रदेशको विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी बजेट निर्माण भएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताउनुभयो । उहाँले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुग्लिङ्ग–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताउनुभयो ।

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवम् बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्चाल गरिने बताउँदै प्रधानमन्त्रीले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताउनुभयो ।

गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।