
वातावरण दिवसको विशेष संवाद रेडियो श्वेत शार्दूलमा अहिले बेलुकी ७ बजे
काठमाडौँ । रेडियो श्वेत शार्दूलले आज बुधवार बेलुकी ७ बजे वातावरण दिवसको अवसरमा विशेष संवाद कार्यक्रम प्रसारण गर्दै छ । विश्व वातावरण दिवस-२०२४ को अवसरमा रेडियोद्वारा आयोजित संवाद तथा अन्तर्क्रियामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार एवम् वातावरणविद् डाक्टर कृष्णप्रसाद ओली र जलवायु र ऊर्जा नीति विश्लेषक अभिषेक यादवसँग मुख्य वक्ता रहनु भएको रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले बताउनु भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष समेत रहनु भएका डा. ओली र नवीकरणीय ऊर्जाविद्का रूपमा समेत परिचित अभिषेक यादवसँग मदन भण्डारी मेमोरियल कलेजका शिक्षक, विद्यार्थी लगायत रेडियो पत्रकारहरूले अन्तर्क्रिया गरेका छन् ।
क्लाइमेट कन्सर्न कार्यक्रम अन्तरगत बेलुकी ७ बजे प्रसारित हुने कार्यक्रमलाई सोही समयमा रेडियोको युवटुब च्यानलबाट समेत प्रियमिर गरिनेछ ।
वातावरणीय प्रदूषण न्यूनिकरण र जलवायु परिवर्तनका विभिन्न पक्षमा मुख्य वक्ताहरूको महत्त्वपूर्ण संवादलाई बढी भन्दा बढी श्रोता-दर्शकसम्म पुराउन जेठ २४ गते बिहीबार बिहान ७ बजे र दिउँसो १ बजे पुनः प्रसारण गरिने रेडियो श्वेत शार्दूलका प्रमुख लामाले जानकारी गराउनु भयो ।
नेपालको शैक्षिक रेडियोका रूपमा मदन भण्डारी मेमोरियल कलेजद्वारा सञ्चालित रेडियो श्वेत शार्दूललाई काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरू काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, ललितपुर, धादिङ, नुवाकोटबाट समेत ९३.६ मेगाहर्जमा सुन्न सकिन्छ ।
यस रेडियोलाई www.radioshwetashardul.com र हाम्रो पात्रो एप मार्फत विश्वभरिबाट सुन्न सकिने व्यवस्था मिलाइएको छ ।